संसदमा मधेसी दलितको प्रतिनिधित्व शून्य हुनु दुःखद् – जसपा नेपालका केन्द्रीय सदस्य

चन्द्रनगर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य सुधीर यादवले करिब १२ लाखभन्दा बढी जनसंख्या रहेको मधेसी दलित समुदायको संघीय संसदमा प्रतिनिधित्व शून्य हुनु अत्यन्तै दुःखद् र चिन्ताजनक अवस्था भएको बताएका छन् ।

चन्द्रनगरस्थित नाढीमन तालमा पत्रकारहरूसँगको कुराकानीमा मंगलबार यादवले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को परिणामले मधेसी दलित समुदायलाई राजनीतिक रूपमा उपेक्षा गरिएको स्पष्ट देखिएको बताए । प्रमुख राजनीतिक दलहरूले प्रत्यक्ष वा समानुपातिक दुवैबाट मधेसी दलित समुदायलाई प्रतिनिधि सभा सदस्य बनाउने विषयमा पर्याप्त ध्यान नदिएको उनको भनाइ छ ।

चुनावी खर्च गर्न नसक्ने क्षमता भएको समुदायका लागि समानुपातिकमा समावेश गर्नुपर्ने कानुनी व्यवस्था भएको र यस्तो कार्य नभएको केन्द्रीय सदस्य यादवले बताए । ‘नेपालमा मधेसी दलितको जनसंख्या १२ लाखभन्दा बढी रहेको अनुमान छ । तर, यति ठुलो समुदायको संघीय संसद्मा प्रतिनिधित्व शून्य हुनु लोकतन्त्रका लागि राम्रो संकेत होइन,’ उनले भने ।

यादवका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा जस्ता ठुला राजनीतिक दलहरूले पनि मधेसी दलित समुदायलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गराउने विषयलाई प्राथमिकता नदिएको देखिएको छ । यसले मधेसका दलित समुदायमा निराशा बढाएको उनको भनाइ छ ।

संविधानले समावेशी प्रतिनिधित्वको सिद्धान्तलाई अंगीकार गरेको भए पनि व्यवहारमा भने त्यसको कार्यान्वयन कमजोर देखिएको उनले टिप्पणी गरे । मधेसी दलित समुदाय ऐतिहासिक रूपमा राज्यको मूलधारबाट पछाडि परेको समुदाय भएकाले उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु राज्य तथा राजनीतिक दलहरूको दायित्व भएको उनले उल्लेख गरे ।

यादवले लोकतान्त्रिक व्यवस्थामा सबै समुदायको समान सहभागिता आवश्यक रहेको बताउँदै मधेसी दलितको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूले आगामी दिनमा गम्भीर पहल गर्नुपर्नेमा जोड दिए । उनका अनुसार प्रतिनिधित्वको अभावले समुदायका वास्तविक समस्या संसदसम्म पुग्न नसक्ने खतरा रहन्छ।

सम्बन्धित समाचार

सबै