लालबन्दी । सर्लाहीमा सोमबार साँझ आएको शक्तिशाली हावाहुरीका कारण विभिन्न स्थानमा किसानले लगाएको मकै र गहुँ बालीमा ठुलो क्षति पुगेको छ। अचानक आएको हावाहुरीले खेतमा तयार हुँदै गरेको बाली ढालेर नोक्सानी पुर्याएको हो ।
चन्द्रनगर क्षेत्रका किसान राम ध्यान ठाकुरको करिब दुई कठ्ठा जमिनमा लगाएको मकै बाली पूर्ण रूपमा नष्ट भएको छ ।
हावाहुरीका कारण मकैका बोट सबै ढलेर उत्पादन हुने आशा समाप्त भएको किसान ठाकुरले बताए । यसैगरी अर्का किसान रामपुकार महतोले करिब सात कठ्ठा जमिनमा लगाएको मकै बालीमध्ये अधिकांश नष्ट भएको जानकारी दिए । ‘हावाहुरीले मकै ढालिदियो, अब उत्पादन निकै कम हुने देखिन्छ,’ उनले दुखेसो पोखे ।
हावाहुरीका कारण चन्द्रनगर मात्रै नभई ईश्वरपुर, ब्रह्मपुरीलगायत सर्लाहीका विभिन्न स्थानका किसानको सयौं बिगाहका मकै तथा गहुँ बालीमा पनि क्षति पुगेको स्थानीयले बताएका छन्।
खेतमा राम्रोसँग बढ्दै गरेको बाली अचानक आएको हावाहुरीले ढालेपछि किसान चिन्तित बनेका छन् ।
हावाहुरीबाट किसानको लाखौँ रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। स्थानीय किसानहरूले सम्बन्धित निकायसँग क्षतिको मूल्याङ्कन गरी राहत तथा सहयोगको माग गरेका छन्।