मलंगवा । सर्लाहीमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ११ हजार बढी परीक्षार्थी सामेल हुने भएका छन् ।
यही चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुन लागेको एसइइमा सर्लाहीबाट ११ हजार ३७१ परीक्षार्थी सहभागी हुने भएका हुन् । नियमिततर्फ १० हजार २८५ र ग्रेडवृद्धितर्फ एक हजार ८६ परीक्षार्थी सामेल हुने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ ।
सर्लाहीमा २०८१ को तुलनामा यो वर्ष ६६१ जना कम परीक्षार्थी एसइइमा सामेल हुँदै छन् । जिल्लामा गएको वर्ष एसइइ दिन १२ हजार ३२ जना परीक्षार्थीले फारम भरेका थिए ।
परीक्षार्थी घटेकाले जिल्लामा तीनवटा परीक्षा केन्द्रसमेत घटाइएको छ । यो वर्ष एसइइ सञ्चालनका लागि जिल्लाभर ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका सूचना अधिकारी एवं शाखा अधिकृत सुनिलकुमार कुशवाहाले जानकारी दिए ।
उनअनुसार विद्यार्थीलाई पायक र नजिक पर्ने गरी परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । जिल्लाभरका प्राविधिकधारतर्फका परीक्षार्थीका लागि भने सदरमुकाम मलङ्गवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।
सर्लाहीमा प्राविधिकधारतर्फ नियमित परीक्षा दिने ३३१ र ग्रेडवृद्धितर्फ १६ जना परीक्षार्थी रहेका शाखा अधिकृत कुशवाहाले बताए ।