लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकामा आज बुधबारबाट लालबन्दी महोत्सव सुरु भएको छ ।
१० दिनसम्म चल्ने यस महोत्सवमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । महोत्सवका संयोजक दिप्रेन्द्र बलम्पालीका अनुसार मेला माघ १५ गतेसम्म सञ्चालन हुनेछ ।
मुख्य आकर्षणः कृषि, मनोरञ्जन र स्थानीय उत्पादन
महोत्सवको मुख्य आकर्षण कृषि प्रदर्शन, स्थानीय उत्पादनको प्रवर्द्धन र कृषि पर्यटन रहेको संयोजक बलम्पालीले जानकारी दिए ।
उनका अनुसार मेलामा कृषि औजारको प्रदर्शन तथा बिक्री वितरण गरिनुका साथै विभिन्न स्थानीय उत्पादनहरूको प्रदर्शनी र ब्रान्डिङ गरिनेछ । किसानहरूका लागि व्यावसायिक तथा समूह गोष्ठीहरू आयोजना गरिनेछ भने स्थानीय उत्पादकहरूलाई प्रमाणपत्र र कृषि औजारहरू प्रदान गरी प्रोत्साहन गरिनेछ । यो व्यवस्था उद्योग वाणिज्य संघको सहकार्यमा गरिएको हो ।
मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रियस्तरमा चर्चित कलाकारहरू प्रमोद खरेल, दुर्गेश थापा, प्रीति आले, अस्मिता अधिकारी लगायतका साथै एलिमेन्ट्स ब्यान्डको पनि विशेष प्रस्तुति रहनेछ । यसपटक नयाँ कलाकारहरूलाई पनि स्थान दिइएको बलम्पालीले बताए ।
महोत्सवमा नृत्य प्रतियोगिता पनि अर्को मुख्य आकर्षणको रूपमा राखिएको छ । यसमा प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ५० हजार र तृतीय हुनेलाई २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । बाल उद्यान, फन पार्क लगायतका मनोरञ्जनात्मक गतिविधिहरू पनि महोत्सवमा समावेश गरिएका छन् ।
मेलामा प्रवेशका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । महोत्सव अवधिभरका लागि भने ६०० रुपैयाँको सःशुल्क पासको व्यवस्था गरिएको छ ।
संयोजक बलम्पालीका अनुसार हाल सबै स्टलहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छैनन् । केही स्टलहरू थपिने क्रममा रहेकाले भोलि वा पर्सिसम्म सबै तयारी पूरा भई महोत्सव पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।