बागमती । सर्लाहीको बागमती नगरपालिका–२ सानो डाबरीस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
आज बिहान करिब ९:०० बजे जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको स्कुल बसले स्थानीय श्याम गोलेका २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बालकको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ढुङ्ग्रेखोलाबाट प्रहरी सहायक निरीक्षक सनीदेवल साहको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले दुर्घटनामा संलग्न बस र चालक सर्लाही हरिवन नगरपालिका–११ प्रगति टोल निवासी करिब ५० वर्षीय सूर्यबहादुर थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा राखेको जनाएको छ।
मृतक बालकको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।