लालबन्दीमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ, २ लाख ८४ हजार रुपैयाँ बरामद

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०८२ चैत ४ गते राति करिब २ बजे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दी, हरिवन तथा अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले के.सी. भाइ भनिने व्यक्तिको घरमा छापा मारेको थियो ।

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनास्थलबाट नगद २ लाख ८४ हजार रुपैयाँ तथा जुवा खेल्न प्रयोग गरिएको ६४४ पत्ती तास र थप ६ प्याकेट नयाँ तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा लालबन्दी, हरिवन, मलंगवा तथा ब्रह्मपुरीका विभिन्न स्थानका ११ जना रहेका छन् । पक्राउ परेकामध्ये मानबहादुर मोक्तान स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई उच्च रक्तचापको समस्या देखिएपछि लालबन्दी नगर अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल रिफर गरिएको छ ।

अन्य पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखी अनुसन्धान भइरहेको छ । जुवा सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै