काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित एक होटलबाट नक्कली सुनजस्तो देखिने धातुसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मिति २०८२ चैत १० गते अपराह्न करिब ४ः४५ बजे चन्द्रपुरस्थित जगत रिसोर्ट होटलको कोठा नम्बर १०२ मा सुनचाँदीको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली खटिएको थियो।
प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा खटिएको टोलीले कोठा जाँच गर्ने क्रममा चार जना पुरुषलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा “प्याम्प” तथा “क्रेडिट सुइस १० ग्राम शुद्ध सुन ९९९.९” लेखिएको प्याकेटमा राखिएको पहेंलो रङको नक्कली सुनजस्तो देखिने धातु ४ थान र थप अन्य गरी जम्मा ७ थान धातु बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी घटनास्थलबाट ६ थान मोबाइल फोन तथा “एन्टिक म्याग्निफाइङ बाइनोकुलर” लेखिएको एक उपकरणसमेत बरामद गरिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूले उक्त नक्कली सुन प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्ने उद्देश्य राखेको देखिएको छ।
नियन्त्रणमा लिइएकाहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारतको दार्जिलिङ बस्दै आएका ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर–१० का ३० वर्षीय अरबिन्द चौधरी, रौतहट बौधीमाई–६ का ३८ वर्षीय रुपकेश राय यादव तथा भारत पश्चिम बंगालको सिलिगुडीका ३० वर्षीय संजोक बस्नेत रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।