ललितपुर । ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा बस्दै आएका भारतीय नागरिक प्रवेश अली चैत ६ मा पक्राउ परे । उनले क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको सुराक प्रहरीसँग थियो । आरोपी एकान्तकुनाबाट पक्राउ परेका हुन्।
एकान्तकुनामा घर भाडामा लिएर बस्दै आएका अली निर्माणाधीन भवनहरूमा टायल र मार्बल लगाउने ठेक्का लिएर कामदार परिचालन गर्थे । बाहिर आफूलाई चिनाउँदा उनी टायल, मार्बलको ‘ठेकेदार हुँ’ भनेर चिनाउँथे । तर, पक्राउ गरेर अनुसन्धान गर्दा अली क्रिप्टो कारोबारी रहेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले बताए ।
उनको मोबाइल हेर्दा बायनान्स अकाउन्ट मार्फत क्रिप्टो कारोबार गर्ने गरेको भेटिएको छ । सन्, २०२२ देखी क्रिप्टो करेन्सीको कारोबार गर्न थालेका अलीले हालसम्म ९१ लाख ८१ हजार ५१३ युएसडिटीको कारोबार गरेको विवरण अनुसन्धान अधिकृतहरूले फेला पारेका छन् । सो युएसडिटीको नेपाली रकम १ अर्ब ३६ करोड ८० लाख ४५ हजार हुन्छ । अली भारतको पश्चिम बंगाल राज्यको मोदिनीपुर जिल्लाका स्थानीय हुन् ।
क्रिप्टो कारोबार गरेको आरोपमा उनकै समूहमा आबद्ध बाँकेको नेपालगञ्ज घर भएका ३१ वर्षीय नरेश रेउले र सर्लाहीको ईश्वरपुर घर भएर नख्खु बस्दै आएकी दिप्ती पोखरेल पनि पक्राउ परेकी छन् ।
नरेशले काठमाडौँ उपत्यका र नेपालका विभिन्न शहरमा युएसडिटी भएका मानिसहरु खोजी गर्थे । युएसडिटी भएकाहरुलाई उनले दिप्ती पोखरेलसँग भेट गराउँथे । दिप्तीले युएसडिटी रकम यकिन गरेपछि अलीसँग नेपाली रकम लिएर उनीहरुले खरिद गर्ने गरेका थिए । अनुसन्धानमा संलग्न डीएसपी अनिल घिमिरे भन्छन्, ‘मुख्य कारोबारी अली हुन, अरू दुई जनाले अलीसँगै कमिसन लिएर काम गर्ने गरेको देखिन्छ ।’
सस्तो मूल्यमा अलीले युएसडीटी रकम आफ्नो बायनान्स अकाउन्टमा ट्रान्सफर गराएर बिक्रेतालाई नेपाली रकम दिने गरेका थिए । खरिद गरेको युएसडिटीको १ प्रतिशत कमिसन रेउले र १ प्रतिशत कमिसन पोखरेलले लिने गरेकी थिईन् । नेपालमा किनेको युएसडीटी अलीले विदेशमा महँगो मूल्यमा बेच्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । डीएसपी अनिल घिमिरे भन्छन्, ‘धेरै मूल्यमा कारोबार गरेर गरेर अलीले पैसा लिने गरेको हाम्रो अनुसन्धान निष्कर्ष छ ।’ अरू दुई जनाले चाहिँ प्रवेश अलीसँग प्रतिशत लिन्थे । विश्वभर डिजिटल वालेट बायनान्स अकाउन्ट मार्फत क्रिप्टो कारोबार गर्ने गरिन्छ ।
रेउलेको बयानले खुल्यो पोल
चैत ६ मा काठमाडौँको सामाखुसीबाट प्रहरीले सुरुमा नरेश रेउलेलाई पक्राउ गरेको थियो । उनको बयानको आधारमा दिप्ती पोखरेल र भारतीय नागरिक अलीले युएसडीटीको कारोबार गर्ने तथ्य खुलेको हो । रेउलेपछि पोखरेल र अलीलाई पक्राउ गरिएको एसपी भट्टले जानकारी दिए ।
सामाखुसी स्थित रेडहन पुलबाट पक्राउ परेकी पोखरेलको साथबाट प्रहरीले १५ लाख ३० हजार नगद पनि बरामद गरेको थियो । सो रकम उनले युएसडिटी खरिद गर्न कारोबारीलाई दिन लैजाँदै गरेको अनुसन्धान अधिकृतहरूले आशङ्का गरेका छन् । तर, पोखरेलले सो रकमबारे केही बताएकी छैनन्। -रातोपाटीबाट