बरहथवा । सर्लाहीको बसवरिया गाउँपालिका – २ स्थित मानपुर ब्यारेज नजिक २०८१ चैत १ गते भएको चक्कु प्रहार घटनामा गम्भीर घाइते भएका मुकेश कुमार शर्मा अझै न्यायको पर्खाइमा छन्।
उक्त घटनामा स्थानीय नेताहरू संलग्न भएको आरोपमा मुद्दा दर्ता भएको छ । र पक्राउ पुर्जी जारी भइसक्दा पनि उनीहरू अझै समातिएका छैनन् । जसका कारण पीडित परिवार भौँतारिरहेका छन् ।
गएको फागु पर्वको दिन साँझ करिब ८ बजेतिर सामान्य विवादबाट सुरु भएको झगडा एकाएक हिंसात्मक बनेको थियो। परिवारका अनुसार मुकेशकी आमा शिव दुलारी देवीमाथि केही व्यक्तिहरूले अभद्र व्यवहार गरेपछि त्यसको विरोध गर्दा मुकेशमाथि सामूहिक आक्रमण भएको हो। सुरुमा कुटपिट गरिएको र त्यसपछि घटनास्थलमै पुगेका प्रभावशाली व्यक्तिहरूको उक्साहटमा चक्कु प्रहार गरिएको जाहेरीमा उल्लेख छ।
जाहेरी अनुसार तत्कालीन कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, गजेन्द्र साह र निकेश त्रिपाठीसहितका व्यक्तिहरू घटनास्थलमा पुगेपछि आक्रमण झन् चर्किएको बताइन्छ । उनीहरूले आक्रमणकारीलाई उक्साएपछि घटना थप हिंसात्मक भएको र मुकेशमाथि चक्कु प्रहार गरिएको आरोप छ।
चक्कु प्रहारबाट मुकेशको पेटमा गम्भीर चोट लागेको थियो । घटनापछि उनलाई तत्काल उपचारका लागि वीरगञ्ज लगिएको थियो। नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि नेसनल मेडिकल कलेजमा चैत २ गते शल्यक्रिया गरिएको थियो। लामो उपचारपछि ज्यान जोगिए पनि उनी अझै पूर्ण रूपमा स्वस्थ हुन सकेका छैनन्।
घटनालगत्तै सुरु भएको कानुनी प्रक्रिया भने विवादित रहँदै आएको छ। पीडित पक्षका अनुसार इलाका प्रहरी कार्यालय बरहथवाले प्रारम्भमा जाहेरी लिन अस्वीकार गरेको थियो। हुलाकमार्फत पठाइएको निवेदनसमेत प्रहरीले अस्वीकार गरेको आरोप छ। त्यसपछि पीडितका भाइ मुनेक ठाकुर अदालत पुगेका थिए।
उच्च अदालतको आदेशपछि सुरेन्द्र प्रसाद सिंह, गजेन्द्र साह, निकेश त्रिपाठीसहित १० जनालाई प्रतिवादी बनाएर पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिइएको थियो। सोही आधारमा इलाका प्रहरी कार्यालय बरहथवाले २०८२ असोज १४ गते मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरेको थियो।
तर, पक्राउ पुर्जी जारी भए पनि प्रहरीले घटना नै गुपचुप पारेर पीडितलाई झनै दौडाएको अहिले उनीहरू बताउँछन्। लामो समय बितिसक्दा पनि आरोपितहरू पक्राउ नपरेको भन्दै पीडित पक्षले राजनीतिक पहुँच र प्रभावका कारण अनुसन्धान प्रभावित भएको आरोप लगाएको छ।
उनीहरूका अनुसार केही आरोपितहरू अझै खुलेआम हिँडडुल गरिरहेका छन्र, प्रहरीसँगै उठबस गरिरहेका छन् र मिलापत्रका लागि बारम्बार दबाब दिने प्रयाससमेत गरिरहेका छन् भने विगतमा समेत बारम्बार हातहतियार देखाउँदै मिलापत्र गर्न धम्की दिने गरेका पीडित बताउँछन् ।
उता नेपाली कांग्रेस सर्लाहीले भने आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएको आरोप अस्वीकार गर्दै घटनालाई राजनीतिक पूर्वाग्रहका आधारमा प्रस्तुत गरिएको दाबी गरेको छ। पार्टीले केही दिनअघि पत्रकार सम्मेलन गर्दै सामान्य विवादलाई अतिरञ्जित गरिएको जनाएको छ।
अहिले मुकेश र उनका परिवार नयाँ सरकार बनेसँगै न्याय पाउने आशामा छन् भने आरोपीहरू फरार छन्। आरोपीमध्ये निवर्तमान कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह केही दिनअघि कांग्रेस सभापति गगन थापालाई भेट्न काठमाडौँ पुगेका थिए ।