शिक्षिकाको निधनप्रति लालबन्दी नगरपालिकाले दियो सार्वजनिक बिदा

लालबन्दी । लालबन्दी नगरपालिका–६ निवासी तथा जनज्योति माध्यमिक विद्यालयकी शिक्षिका दुर्गा गौतम दंगालको निधनप्रति लालबन्दी नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै एक दिन सार्वजनिक बिदा दिएको छ ।

नगर कार्यपालिकाको कार्यालयले सोमबार शोक वक्तव्य जारी गर्दै दंगालको चैत १२ गते निधन भएको घटनाले नगरपालिका परिवारलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ । वक्तव्यमा स्वर्गीय शिक्षिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरिएको छ।

दंगाल शिक्षण पेसामा अनुशासित, मर्यादित र कर्तव्यनिष्ठ शिक्षकका रूपमा परिचित थिइन् । विद्यालय तथा समाजमा पुर्‍याएको योगदानको स्मरण गर्दै नगरपालिकाले उनको निधनलाई शिक्षा क्षेत्रकै अपूरणीय क्षतिका रूपमा उल्लेख गरेको छ ।

हाल सञ्चालन भइरहेका वार्षिक परीक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मातहतका विद्यालयहरूमा २०८२ चैत १८ गते एक दिन शोक बिदा दिने निर्णय गरेको जानकारी पनि वक्तव्यमा दिइएको छ।

नगर प्रमुखस्तरबाट जारी शोक वक्तव्यमा स्वर्गीय दंगालप्रतिको सम्मानस्वरूप उक्त निर्णय गरिएको उल्लेख गरिएको छ ।

यसअघि लालबन्दी नगरपालिका–१६ निवासी तथा कालिन्जोर माध्यमिक विद्यालय लालबन्दी–१७ रानीगञ्जमा कार्यरत अङ्ग्रेजी विषयका शिक्षक नवराज न्यौपानेको निधनप्रति पनि यसै दिन बिदा दिइएको छ ।

सम्बन्धित समाचार

सबै