रास्वपा सर्लाहीले भन्यो– अनधिकृत र अनुमतिबिना गतिविधि गरे कारबाही हुन्छ

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही जिल्ला समितिले जिल्लामा अनधिकृत रूपमा गरिने पार्टीसम्बन्धी गतिविधि, भ्रमपूर्ण सूचनाको सम्प्रेषण र स्वघोषित उम्मेदवारीमाथि कडाइका साथ रोक लगाएको छ ।

जिल्ला समितिले चैत १५ गते एक सूचना जारी गर्दै पार्टीको विधानविपरीतका यस्ता कार्यहरू नगर्न चेतावनी दिएको हो।

पार्टीको सर्लाही जिल्ला कार्यालयले जारी गरेको सूचनामा जिल्लामा विभिन्न स्थानमा भ्रामक सूचना सम्प्रेषण गर्ने, अनधिकृत रूपमा बैठक तथा पार्टीसम्बन्धी गतिविधिहरू सञ्चालन गर्ने, पार्टीको विधान र नियमविपरीतका कार्यहरू भइरहेको र मिडिया ट्रायल वा सामाजिक सञ्जालमार्फत म वा यो उम्मेदवार भनी स्वघोषित घोषणा गर्ने जस्ता गतिविधिहरूको जानकारी प्राप्त भएको उल्लेख छ ।

जिल्ला कार्यसमितिले यस्ता गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टीको अनुशासन, विधि(विधान, पद्धति र प्रक्रिया विपरीतका यस्ता कार्यहरू कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ।

सूचनामा १५ गतेको मितिदेखि उपरान्त कुनै पनि व्यक्ति वा समूहले पार्टीसम्बन्धी कार्यक्रम, बैठक वा गतिविधि सञ्चालन गर्दा सम्बन्धित निकायको पूर्वजानकारी तथा अनुमति अनिवार्य रूपमा लिनुपर्ने उल्लेख छ।

यदि कसैले बिनाअनुमति र पार्टीको विधानविपरीत गतिविधि सञ्चालन गरेको पाइएमा सम्बन्धित व्यक्तिहरूलाई पार्टीको विधान र नियमअनुसार कडा अनुशासनात्मक कारबाही गरिने चेतावनी समेत दिइएको छ।

सम्बन्धित समाचार

सबै