काठमाडौँ । सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नितिमा कार्कीले मधेस प्रदेश तथा सर्लाही जिल्लासँग सम्बन्धित महत्वपूर्ण विषयहरूबारे सुझाव मागेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आगामी बजेटमा ती विषयहरू समेट्न पहल गर्ने बताउँदै सरोकारवालासँग सुझाव मागेकी हुन्।
कार्कीले आज अपराह्न प्रधानमन्त्री बालेन शाहसँग प्रधानमन्त्री कार्यालयमा भेटघाट कार्यक्रम तय भएको जानकारी दिँदै सो भेटमा मधेस र सर्लाहीका विभिन्न विकाससम्बन्धी मुद्दाहरूमा ध्यानाकर्षण गराउने तयारी रहेको उल्लेख गरेकी छन्।
उनले आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रीय आवश्यकतालाई विशेष प्राथमिकताका साथ समावेश गराउन पहल गर्ने जनाउँदै यस सम्बन्धमा स्थानीयवासी, सरोकारवाला तथा समर्थकहरूसँग सुझाव दिन आग्रह गरेकी छन्।
“मधेस तथा सर्लाही जिल्लासम्बन्धी केही महत्वपूर्ण विषयहरूमा ध्यानाकर्षण गराउने तथा आगामी बजेटमा विशेष प्राथमिकताका साथ समेट्न अनुरोध गर्ने तयारी गरेको छु,” कार्कीले फेसबुकमार्फत उल्लेख गरेकी छन्।
उनले थप सुझाव भए टिप्पणीमार्फत जानकारी गराउन आग्रह गर्दै क्षेत्रको विकासका लागि सामूहिक पहल आवश्यक रहेको बताएकी छन्।