सर्लाहीमा भन्सार छलीको किराना सामानसहित अटो नियन्त्रणमा

चन्द्रनगर । सर्लाहीमा सशस्त्र प्रहरीले बिलविजक तथा भन्सार प्रज्ञापन पत्रविहीन किराना सामानसहित एक अटो नियन्त्रणमा लिएको छ ।

चन्द्रनगर गाउँपालिका–४, पोखरिया क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा खटिएको १० जनाको टोली र बिओपी सखुअवाबाट सप्रनानी पुष्कर रिमालको कमान्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त अटो फेला पारेको छ ।

चेकजाँचका क्रममा ज १ ह ४४५१ नम्बरको अटोमा बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त अटोमा सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवास निवासी अन्दाजी ३० वर्षीय बवी महतोलाई समेत नियन्त्रणमा लिइएको छ ।

सुरक्षा स्रोतका अनुसार महतो सर्लाहीको त्रिभुवननगर क्षेत्रअन्तर्गत सखुअवा र पर्सा नाकाबाट लामो समयदेखि किराना लगायत विभिन्न सामान भन्सार छली गरी नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको बताइएको छ ।

साथै, आफ्नो सामान नियन्त्रणमा लिएपछि उनले खटिएका सुरक्षाकर्मीलाई गृह मन्त्रालयसम्म पहुँच प्रयोग गरी सरुवा गराइदिने धम्की दिने, भिडियो बनाएर फसाइदिने तथा जागिरसमेत खाइदिने चेतावनी दिने गरेको एक सुरक्षाकर्मीले बताएका छन् ।

सुरक्षाकर्मीका अनुसार महतोले भन्सार छलीका सामान सहज रूपमा ल्याउन दिनुपर्ने भन्दै सार्वजनिक स्थलहरूमा समेत दुर्व्यवहार गर्ने गरेको आरोप छ ।

नियन्त्रणमा लिइएको अटो तथा सामानलाई आवश्यक कारवाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको छ । भन्सार कार्यालयमा अटोको मूल्य ३ लाख ५० हजार रुपैयाँ र किराना सामानको १ लाख २७ हजार १२५ रुपैयाँगरी कुल ४ लाख ७७ हजार १२५ रुपैयाँ बराबरको सामान भन्सार दाखिला गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

सबै