सर्लाहीका दुई पालिकाका व्यापारिक भवन अलपत्र, तीन पटक सूचना निकाल्दा पनि लागेन भाडा

बरहथवा : नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको व्यापारिक भवन अलपत्र परेका छन्। हरिवन नगरपालिका र लालबन्दी नगरपालिका कार्यालयले नगरविकास कोषबाट ऋण लिएर निर्माण गरेका उक्त भवन प्रयोगविहीन बनेका हुन्।

निर्माण भएको लामो समयसम्म पनि प्रयोगमा आउन नसक्दा भौतिक संरचनामा क्षति पुग्नुका साथै निर्माण गर्न लिइएको ऋण तिर्न समस्या भएको छ। ठेक्का नलागेपछि विगत दुई वर्षदेखि भवन अलपत्र परेको पालिका कार्यालयले जनाएका छन्।

पटकपटक ठेक्काका लागि सूचना प्रकाशन गर्दा रीतपूर्वक आवेदन नपरेकाले भवन भाडामा लगाउन नसकिएको हरिवर नगरप्रमुख रमेश बुढाथोकीले बताए। नगरपालिकाले लगातार तीनपटक सूचना जारी गर्दा पनि कसैको आवेदन नपरेको उनको भनाइ छ।

यसैबीच, नगरले कायम गरेको भाडादर अहिलेको आर्थिक मन्दीको अवस्था सुहाउँदो नभएको व्यापारीले तर्क गरेका छन्। आर्थिक मन्दीका कारण महँगो मूल्य तिरेर सटर भाडामा लिने र व्यापार गर्ने अवस्था नरहेको स्थानीय व्यापारी विनोद महतोले बताए।

नगरपालिकाले व्यापारीलाई असुविधा हुनेगरी महँगो मूल्य राखेर भवन भाडाको सूचना निकालेको अर्का व्यापारी मोहनलाल श्रेष्ठले बताए। भवन निर्माणका बेला जस्तो अवस्था अहिले नरहेको भन्दै भाडादर बढी लिन खोज्दा समस्या भएको उनको भनाइ छ।

हरिवन-११ बजार क्षेत्रमा निर्माण भएको भवन २०६७ पुस २८ मा ठेक्का सम्झौता भएको थियो। उक्त भवन ठेकेदार कम्पनीले एक वर्षमा सम्पन्न गरेको थियो। पालिकाले १३ करोड ८६ लाख ७७ हजार तीन सय ४८ ऋण लिएर आठ वटा भवन निर्माण गरेको थियो। उक्त भवनमा एक सय ४६ वटा सटर छन्।

नगरको राजस्व परामर्श समितिको बैठकले एक करोड २३ लाख १८ हजारमा भवन ठेक्का लगाउने निर्णय गरेको थियो। बजारमा रहेका निजी सटरको भाँडाको स्थलगत अनुगमन र मूल्याङ्कन तथा ऋण लिने क्रममा नगरविकास कोषमा बुझाएको प्रस्तावपत्रअनुसार ठेक्का मूल्य निर्धारण भएको समितिका सदस्य सचिव गोपाल श्रेष्ठले जानकारी दिए।

ठेक्का रकममा पुनःविचार गरेर प्रक्रियामा जाने तयारी भएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए। ‘भवन ठेक्का लगाउन सबै प्रक्रिया पूरा गर्नुपर्छ’, उनले भने, ‘ठेक्का लाग्नै नसक्ने मूल्य तोकिएको छैन। निजी सटर सोही मूल्यमा लिने तर नगरको नलिने मानसिकताले समस्या भएको हो।’

नगरविकास कोषको ऋणबाट लालबन्दी नगरपालिकाले बजार क्षेत्रस्थित डुमडुमे मन्दिर अगाडि निर्माण गरेको ‘सपिङ कम्प्लेक्स’ पनि ठेक्का नलागेपछि प्रयोगविहीन बनेको छ। लालबन्दी नगरपालिकाले पटकपटक सूचना प्रकाशित गर्दा पनि ‘सपिङ कम्प्लेक्स’ ठेक्काको आवेदन नपरेको पालिकाका प्रवक्ता एवं वडा नं १६ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए।

भवन प्रयोगविहीन बन्दा संरचनामा क्षति पुग्न थालेको लालबन्दी-७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) को भनाइ छ। ‘ठेक्का लागेको छैन’, उनले भने, ‘भवनको संरक्षण गर्ने कोही नहुँदा सिसाका सामान फुट्न सुरु भइसकेका छन्।’ भवनको झ्याल ढोकाका सिसा फुट्ने, भत्किने समस्या आएकाले प्रयोग नै नगरी मर्मत गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ।

नगरविकास कोषको छ करोड ४१ लाख ६० हजार तीन सय ६२ ऋण सहयोगमा नगरपालिकाले लालबन्दी-७ स्थित डुमडुमेमा व्यावसायिक प्रयोजनको उद्देश्यलेसहित ‘सपिङ कम्प्लेक्स’ निर्माण गरेको हो। यस भवन निर्माणका लागि २०७६ मा ठेक्का लागेको थियो। निर्माण कम्पनीले केही समय पहिला नै भवनको सम्पूर्ण काम सम्पन्न गरेर नगर कार्यालयलाई हस्तान्तरण गरेको थियो।

‘सपिङ कम्प्लेक्स’मा लिफ्ट राख्नेसहितका काम सम्पन्न भएको हो। व्यापारिक प्रयोगका लागि सम्पूर्ण रूपमा तयार अत्याधुनिक भवन भाडामा नलाग्दा लामो समयदेखि प्रयोगविहीन बन्नुका साथै ऋणबापतको व्यायभार नगरमाथि थपिएको छ।

लामो समयदेखि भवन ठेक्काका लागि सूचना निकाल्ने काम मात्र भइरहेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए। ‘भवन भाँडामा लगाउन तेस्रो पटक अन्तिम सूचना निकाल्ने तयारीमा छौँ’, उनले भने, ‘नगरबाट पहिलो र दोस्रो सूचना तीन/तीन पटक निकाल्यौँ। तेस्रो पटकको पनि तेस्रो सूचना निकाल्दैछौँ।’

पटकपटक सूचना जारी गर्दा पनि भवन भाडा लाग्न नसकेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए। नगरपालिकाले पहिलो पटक ६ लाख, दोस्रो पटक ४ लाख ५० हजार भाडामा सूचना निकालेको थियो। तेस्रो पटक रकम घटाएर ३ लाख १५ हजार भाडा कायम गरी सूचना जारी गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

सम्बन्धित समाचार

सबै