लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा करेन्ट लागेर एक ५ वर्षीय बालकको निधन भएको छ । शुक्रबार बिहान करिब पौने ११ बजेको समयमा खेतमा पानी सिँचाइका लागि चलाइएको मोटर नजिकै खेल्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा घारीबथानकै राम बैलकोटीका छोरा ५ वर्षीय वियान्श बैलकोटी रहेका छन् । स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी आफ्नै खेतमा पानी सिँचाइ गरिरहेको स्थान नजिक वियान्श खेलिरहेको अवस्थामा अचानक करेन्ट लागेर घाइते भएका थिए ।
करेन्ट लागेर घाइते भएका बालकलाई तत्काल उपचारका लागि ईश्वरपुर नगर अस्पताल बयलबास पठाइएको थियो। अस्पतालमा स्वास्थ्यकर्मीले चेकजाँच गर्दा दिउँसो १२ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, केशरगञ्जले जानकारी दिएको छ । बालकको शव हाल सोही अस्पतालमा रहेको छ ।
घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घारीबथानबाट प्रहरी सहायक निरीक्षक प्रहरी टोली खटिगएको थियो। पछि इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा मुचुल्का सहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
घटनास्थल अस्थायी प्रहरी पोष्ट घारीबथानबाट करिब डेढ किलोमिटर उत्तरतर्फ पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।