सर्लाहीमा अवैध काठसहित ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

मलंगवा । सर्लाहीमा अवैध रूपमा ओसारपसार भइरहेको ठूलो परिमाणको काठसहित एक थान ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले मंगलबार राति उक्त सामग्री नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका अनुसार विष्णु गाउँपालिका–२ स्थित नदियापकडी बिओपीबाट खटिएको टोलीले चेकजाँचका क्रममा ज. १ त. २९४९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

गोडैताबाट फुलपरासीतर्फ लैजाँदै गरिएको उक्त ट्याक्टरमा १३६ क्युबिक फिट सिमल र गुलर जातको गोलिया काठ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको काठको बजार मूल्य ६८ हजार ३३० रुपैयाँ र ट्याक्टरको मूल्य करिब १० लाख रुपैयाँ गरी कुल १० लाख ६८ हजार ३३० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको काठ र ट्याक्टरलाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लालबन्दीमा बुझाएको जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै