मधेशमा पानीको हाहाकार हुँदा पनि सरकार गम्भीर नभएको आरोप

काठमाडौँ : प्रतिनिधिसभा सदस्यहरूले चुरे क्षेत्रको विनाशका कारण खानेपानीको मुहान सुक्दै गएकाले तराईवासीले खानेपानीको चरम अभाव सामना गरिरहेका भन्दै समयमा नै चुरे जोगाउनुपर्नेमा जोड दिएका छन्।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको बैठकमा सांसदहरूले तराईको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न चुरे बचाउनुपर्नेमा जोड दिएका हुन्।

सांसद रामप्रकाश चौधरीले चुरे संरक्षण गरेर यस क्षेत्रका जनतालाई खानेपानीको समस्याबाट मुक्त गराउनुपर्नेमा जोड दिए। ‘चुरे बचाऊ र पानी देऊ’ भनेर २५ दिन पैदल हिँडेर तराईका महिला तथा पुरुष माइतीघर आउनुभएको छ, पानीको माग राखेर धर्नामा बस्नुभएको छ’, उनले भने, ‘यस विषयमा सरकारको ध्यानाकर्षण भएको छैन।’

धर्नामा बसेका मानिसको अवस्था दयनीय हुँदै गइरहेको भन्दै सरकारले गम्भीर भएर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए।

सांसद मनिष झाले चुरे दोहनका कारण तराईमा पानीको स्रोत सुक्दै गइरहेको भन्दै समयमा नै सचेत रहनका लागि ध्यानाकर्षण गराए। ‘चुरे दोहनका कारण मधेसमा पानीको स्रोत जमिनमुनि गएको छ र पानीको समस्या बढिरहेको छ’, उनले भने, ‘संसदीय समिति बनाउने वा नबनाउने भन्ने विषयमा संसद् अवरुद्ध हुँदा जनतामा समस्या सम्बोधन हुन पाएनन्।’

सांसद डा. वीरेन्द्रप्रसाद महतोले मधेसमा पानीको हाहाकार बढेको र यसमा सरकारको ध्यानाकर्षण नभएको भन्दै आपत्ति जनाए। ‘शिक्षामा अर्बौं रकम लगानी गरी युवा विदेश गएका छन्। स्वदेशमा विद्यार्थी नपाएर शिक्षक कटौती भएको छ’, उनले भने, ‘तराईमा मिटरब्याजीको समस्या अझै समाधान छैन। यस्ता समसामयिक विषयमा सरकारको ध्यान जान जरुरी छ।’

सम्बन्धित समाचार

सबै