मृगौला फेल भएकी ३२ वर्षीया सम्झनाको उपचारमा आर्थिक अभाव, ज्यान बचाउन परिवारको हारगुहार

हरिवन । हरिवन नगरपालिका वडा नं. १ निवासी ३२ वर्षीया सम्झना सिन्दाली हायूको दुवै मृगौला खराब भएपछि उनको परिवारले उपचार र मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको याचना गरेको छ ।

विगत डेढ वर्षदेखि ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी सम्झनाको अवस्था जटिल बन्दै गएपछि चिकित्सकले मृगौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् । तर, लामो समयदेखि उपचार गराउँदा आर्थिक अवस्था निकै कमजोर भएपछि परिवारले श्रीमतीको ज्यान जोगाइदिन सबैसँग अपिल गरेको हो ।

सम्झनाका श्रीमान दिनेश राई हायूले मलिन स्वरमा भने, “श्रीमतीको दुवै मृगौला फेल भएको छ । डेढ वर्षदेखि पाटन अस्पतालमा उपचार गराइरहेका छौँ । अब मृगौला फेर्नुपर्छ भनिएको छ, तर मसँग पैसा छैन । आर्थिक अभावले श्रीमती नै गुमाउनु पर्ने हो कि भन्ने चिन्ताले छटपटाइरहेको छु ।”

दिनेशका अनुसार उपचारका क्रममा घरको सबै सम्पत्ति सकिइसकेको छ भने धेरै ऋण समेत लागिसकेको छ । उनी काठमाडौंमा सेक्युरिटी गार्डको काम गर्छन् भने सम्झना हरिवन नगरपालिका वडा नं. १ को कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन् । उनीहरूको एक सानो छोरा समेत छ ।

“आर्थिक सहयोग मात्र होइन, मृगौला दान गर्ने दाता पनि भेटिए हुन्थ्यो,” दिनेशले थपे, “अब सरकार वा कुनै दानवीर दाताबाट सहयोग नमिले श्रीमतीको उपचार रोकिने अवस्था आएको छ ।”

यसैबीच, हरिवनका स्थानीय युवा राधाकृष्ण प्याकुरेलले पनि सम्झनाको दयनीय आर्थिक अवस्थालाई मध्यनजर गर्दै उनको ज्यान बचाउन सबैलाई यथाशक्य सहयोग गर्न आग्रह गरेका छन् ।

सहयोगका लागि विवरण:

इच्छुक दाताहरूले सम्झनाको बैंक खातामा सिधै रकम जम्मा गर्न वा क्युआर (QR) मार्फत सहयोग गर्न सक्नुहुनेछ । थप जानकारीका लागि सम्झनाका श्रीमान दिनेश राई हायूको मोबाइल नम्बर ९८६४०९८३२१ मा सिधै सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

सम्बन्धित समाचार

सबै