लालबन्दी । जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक युवकको ज्यान गएको छ । लालबन्दी नगरपालिका–१५, परवानीपुरस्थित पिडखोल्सी निवासी ३२ वर्षीय प्रेम बहादुर थिङ (दावा) को बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार आइतबार साँझ ५ बजे मकै बालीमा क्षति पुर्याइरहेको बँदेललाई धपाउन खोज्दा थिङमाथि आक्रमण भएको थियो । मकै बारीमा पसेको बँदेललाई पछ्याउँदै जाने क्रममा पिडखोल्सी भन्ने स्थानमा जंगली बँदेलले उनलाई आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।
घाइते थिङलाई तत्काल उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक थिङ स्थानीय तुल बहादुर थिङका छोरा हुन् ।
मृतकको शवलाई पोस्टमार्टमका लागि आइतबार राति सवा ११ बजे सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको छ । पछिल्लो समय यस क्षेत्रमा जंगली जनावरको आतंक बढेसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन् ।