सिरहा । सिरहाको मिर्चैयामा सोमबार साँझ आएको हावाहुरीका कारण घरको रेलिङ खसेर लाग्दा एक वृद्ध महिलाको मृत्यु भएको छ ।
मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको आफ्नै घरको छतमा रहेको इँटाको रेलिङ भत्किएर मृत्यु भएको हो ।
प्रहरीका अनुसार हावाहुरी चलिरहेका बेला घरको बरन्डामा बसिरहेकी महराको टाउकोमा छतबाट इँटाको रेलिङ खसेको थियो । रेलिङले लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
घाइते महरालाई तत्काल उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर पालले जानकारी दिए । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।