संग्रामपुर-बाँके सडकमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थित संग्रामपुर–बाँके सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ८ः३० बजे संग्रामपुरबाट बाँकेतर्फ जाँदै गरेको ग. १ ख. ९४६७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना. ४८ प. ४७० नम्बरको अपाचे मोटरसाइकललाई खिला नजिक ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक श्याम ठाकुर गम्भीर घाइते भएका थिए। महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी अन्दाजी ३५ वर्षीय ठाकुरको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा बिहान ९ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न बस, बसधनी मनिष कुमार महतो तथा मोटरसाइकललाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक कबिलासी नगरपालिका निवासी बद्री मण्डल भने घटनापछि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै