मन्त्रीमाथि प्रहरी दमनः मधेश प्रदेश मामिला समितिले छानबिन गर्ने

जनकपुरधाम : मधेश प्रदेशका तत्कालीन शिक्षा मन्त्री तथा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि प्रहरीले बल प्रयोग गरेको घटनाबारे मधेश प्रदेशसभाको प्रदेश मामिला समितिले छानबिन गर्ने भएको छ।

सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा गत ८ माघ २०८० उक्त घटना भएको थियो।

उपेन्द्र यादवले उक्त भवनको शिलान्यास गरेको कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले विरोध जनाउँदा तत्कालिन शिक्षामन्त्री यादवमाथि प्रहरीले बल प्रयोग गरेको थियो।

जनमत पार्टीले उक्त घटनाको संसदीय छानबिन गर्न माग गर्दै आएको थियो। आज सोमबारको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले उक्त घटना छानबिनको जिम्मा प्रदेश मामिला समितिलाई दिएको जानकारी गराएका हुन्।

गत वैशाख ४ गते चौथोपटक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने बेला प्रदेशसभामा भएको तोडफोड घटना पनि सोही समितिले छानबिन गर्ने भएको छ।

सोमबार बसेको मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक पनि जनमतले अवरुद्ध गरेपछि सभामुखले १० मिनेटका लागि स्थगित गरेका थिए।

त्यसपछि दुवै घटनाको छानबिन प्रदेश मामिला समितिमार्फत गर्न दलहरू सहमत भएका हुन्। समितिमा मधेश प्रदेशसभामा एकीकृत समाजवादीका नेता रत्नेश्वर गोइत सभापति रहेका छन्।

सम्बन्धित समाचार

सबै