जनकपुरधामः कांग्रेस मधेस प्रदेशले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।
आज बसेको कांग्रेसको संसदीय दलको बैठकले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको हो।
संसदीय दलका प्रमुख कृष्णा यादवले डाँकेको बैठकले भोलि बुधबार सदनबाट मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो।
बैठकमा सहभागी प्रदेश सांसद श्याम पटेलले पाँचौँ पटको विश्वासको मतमा मुख्यमन्त्री यादवको पक्षमा समर्थन गर्ने निर्णय भएको बताए।
उनका अनुसार देशको राजनीति परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेस मधेसले मुख्यमन्त्री यादव सरकारको पक्षमा मतदान गर्ने निष्कर्ष निकालेको हो।
मधेस प्रदेश सभामा कांग्रेसका २२ जना प्रदेश सांसद छन्। जसपासँग कांग्रेस उभिएपछि यो दलका सांसदहरूको सङ्ख्या ४१ पुगेको छ। सरकार निर्माणका लागि ५४ सांसदको समर्थन आवश्यक छ।
एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएपछि त्यसको २५ औँ दिनमा मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लागेका हुन्।