सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा इलाकाबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामानसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाबाट खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा उक्त अवैध सामान र ओसारपसारमा प्रयोग गरिएको ट्रक नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सोही ठाउँका ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादव रहेका छन् । उनीहरू उक्त ट्रकका चालक र सहचालक हुन् ।
स. १ ख. ५३५ नम्बरको ट्रकमा लोड गरी नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको अवस्थामा कस्मेटिक सामान, टुथ पेस्ट र २ सय ६० केजी ओखरसहित ट्रक नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार बरामद गरिएको सामानको मूल्य १९ लाख ४७ हजार ३ सय रुपैयाँ रहेको छ भने प्रयोग गरिएको ट्रकको अन्दाजी मूल्य २१ लाख रुपैयाँ रहेको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ भने बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।