बारामा सार्वजनिक स्थलमा नग्नता प्रदर्शन गरेको आरोपमा तीन तेस्रोलिङ्गी पक्राउ

कलैया : सार्वजनिक स्थलमा नग्नता प्रदर्शन गरेको आरोपमा प्रहरीले बाराको कलैयाबाट तीन जना तेस्रोलिङ्गीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही गाउँपालिका–५ घर भएकी २६ वर्षीया दिव्या रानी, बाराको जितपुर सिमरा घर भएकी २५ वर्षीया निशा भारती र सोही स्थानकी ५७ वर्षीया निशा देवी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितका अनुसार पक्राउ परेका व्यक्तिहरूले सोमबार जिल्ला प्रहरी कार्यालयको मूल गेटमा धर्ना दिँदै विरोध प्रदर्शन गरेका थिए । ‘अभद्र व्यवहार’ मुद्दामा हिरासतमा रहेका खुश्बु भन्ने अफजल मियाँ दर्जीलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै उनीहरूले कार्यालय परिसरमा दबाब सिर्जना गरेका थिए ।

सो क्रममा प्रहरीले उनीहरूलाई सम्झाई–बुझाई गरी त्यहाँबाट हट्न आग्रह गरेको थियो । तर, उनीहरूले प्रहरीमाथि नै गालीगलौजमा उत्रिनुका साथै सडकमा नै नग्नता प्रदर्शन गरेका थिए । सार्वजनिक मर्यादा विपरीतको कार्य गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित समाचार

सबै