सिरहा : सिरहास्थित मालपोत कार्यालयमा फर्जी कागजात खडा गरी जग्गा पास गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा श्रीराम भू-सेवा केन्द्रका एक कर्मचारी, एक जना लिखत लेख्ने (लेखनदास) र एक जना स्टुडियो सञ्चालक रहेका छन्। उनीहरूले नक्कली कागजात तयार पारी मालपोत कार्यालयमार्फत जग्गाको स्वामित्व हस्तान्तरण (पास) गराएको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर पालका अनुसार शंकास्पद गतिविधि र फर्जी कागजातको आधारमा जग्गा किनबेच भइरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
“पक्राउ परेका तीनै जनामाथि कीर्ते कागजात बनाएको र सोही आधारमा मालपोत कार्यालयमा जग्गा पास गराएको आरोप छ,” डिएसपी पालले भने, “उनीहरूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ।”
पक्राउ परेकाहरूको नाम भने प्रहरीले हाललाई गोप्य राखेको छ। केही समययता सिरहा मालपोत कार्यालयमा कागजात कीर्ते गरी जग्गा कब्जा गर्ने र अवैध रूपमा नामसारी गर्ने घटनाहरू बाहिर आइरहेका छन्।
प्रहरीले यस घटनामा थप व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका गर्दै अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।