ललितपुरबाट नक्कली नोटसहित सिरहाका एक युवक पक्राउ

ललितपुर । प्रहरीले ललितपुरको लगनखेलबाट नेपाली ५०० रुपैयाँ दरका १६ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिराहा जिल्ला लहान नगरपालिका वडा नम्बर १५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १४ कलंकी बस्ने १९ वर्षीय सुरज राई रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर १२ स्थित लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले राईलाई रंगेहात पक्राउ गरेको हो।

राईको साथबाट बरामद गरिएका ५०० रुपैयाँ दरका सम्पूर्ण १६ थान नक्कली नोटहरूमा ‘ज/१३ ६८६४२७’ एउटै नम्बर उल्लेख भएको प्रहरीले जनाएको छ।

प्रहरीले नक्कली नोटसहित पक्राउ परेका राईलाई नियन्त्रणमा लिई यस कारोबारमा अन्य व्यक्तिको संलग्नताका बारेमा थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

सबै