गर्मी बढेपछि बर्दिबासमा दुई दिन विद्यालय बन्द

बर्दिबास । पछिल्ला पाँच दिनयता महोत्तरी जिल्लामा बढेको अचाक्ली गर्मी छल्न बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगर क्षेत्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्नसक्ने भन्दै बिहीबार (जेठ २१) र शुक्रबार (जेठ २२) गते सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू पूर्ण रूपमा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले जानकारी दिए।

बर्दिबास जिल्लाकै सबैभन्दा बढी विद्यालय रहेको स्थानीय तह हो, जहाँ ५५ सामुदायिक र अन्य संस्थागत तथा धार्मिक गरी ८० भन्दा बढी विद्यालय छन्।

गत शनिबारयता जिल्लामा तापक्रम निरन्तर ३८ डिग्री सेल्सियसको सेरोफेरोमा रहँदै आएको छ। आइतबार मात्रै जिल्लाको गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा कोठामै १० जना छात्रा बेहोस भएका थिए। उपचारपछि सबै छात्राको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

दिनभरि प्रचण्ड घामको राप र तातो हावा चल्ने क्रम बढेसँगै जनजीवन निकै प्रभावित भएको छ। यसैबीच, मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले एक/दुई दिनभित्र मौसममा सुधार नभए विद्यालय बन्द गर्नेबारे छलफल गरिने बताउनुभयो। जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन्।

बर्दिबासले गर्मी छल्न विद्यालय बन्द गर्ने निर्णय गरे पनि अन्य स्थानीय तहले भने अहिलेसम्म यस्तो सूचना जारी नगरेको शिक्षा विकास समन्वय इकाई महोत्तरी कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिए।

अत्यधिक गर्मीका कारण हाटबजार र कार्यालयहरूमा पनि चहलपहल निकै घटेको छ। ससाना नानीहरू, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी महिला र कडा शारीरिक श्रम गर्ने मजदुरहरू बढी समस्यामा परेका छन्।

सम्बन्धित समाचार

सबै