लालबन्दी : काठमाडौँको वनस्थली क्षेत्रमा जग्गा खरिद गर्न आएका एक व्यक्तिलाई ‘प्रहरी’ भन्दै डर त्रास देखाई हतकडी लगाएर १० लाख ९५ हजार रुपैयाँभन्दा बढी रकम लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले चार जनालाई पक्राउ गरेको छ। यस घटनामा पीडितका चिनजानका साथीसमेत संलग्न रहेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले दिएको जानकारी अनुसार सर्लाहीको लालबन्दी नगरपालिका ८, खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिदका लागि काठमाडौँ गएका थिए। उनी आफ्ना चिनजानका साथी शेरबहादुर मोक्तानको वनस्थलीस्थित कोठामा बसेका थिए।
गत असार ९ गते बेलुका करिब ७ बजेको समयमा ५/६ जनाको एक समूह धनबहादुर बसेको कोठामा प्रवेश गर्यो। उनीहरूले आफूलाई प्रहरी भन्दै धनबहादुरलाई नियन्त्रणमा लिएर हतकडी लगाए। त्यसपछि उनको साथमा रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल र सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएका थिए।
घटनालगत्तै प्रहरीले लुटपाटमा संलग्नहरूको खोजी तीव्र पारेको थियो। अनुसन्धानका क्रममा प्रहरीले असार १४ गते काठमाडौँका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई हाल धापासी बस्ने ४३ वर्षीय राम शरण दमाई, काठमाडौँ टोखा नगरपालिका १ का ३८ वर्षीय सविन खवास, पर्सा ठोरी गाउँपालिका ४ घर भई हाल गौरीघाट बस्ने ४३ वर्षीया लक्ष्मी गोले रहेका छन्।
यसैगरी, पीडित धनबहादुरका चिनजानका साथी तथा काठमाडौँ महानगरपालिका १६ वनस्थलीमा डेरा गरी बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका ५ का ४६ वर्षीय शेरबहादुर मोक्तान पनि लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट लुटिएको रकममध्ये नेपाली एक हजार दरका २ लाख रुपैयाँ बरामद गरेको छ।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार, पक्राउ परेका उनीहरूमाथि ‘चोरी तथा डाँका सम्बन्धी कसुर’ मा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइएको छ।
यस घटनाबारे प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ।