जनकपुरधाम : मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिश सिंह नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन्।
सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएपछि उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए। त्यसपछि प्रदेश प्रमुख सुवेदीले त्यसै दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न शुक्रबारसम्मको समय दिएकी थिइन्।
नवनियुक्त मुख्यमन्त्री सिंहले केहीबेरमा शपथ लिनेछन्।
को हुन् सतिश सिंह ?
मुख्यमन्त्री बन्न लागेका सतिश सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जनमत पार्टीमा प्रवेश गरेका थिए। उनी २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडीका गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि उनी सोही गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बने पनि पराजित भए। त्यसपछि जनमत प्रवेश गरेका उनी सप्तरी २ (१) बाट उम्मेदवार बनेर निर्वाचित भए।
उनी प्रदेश सभामा अर्थ समिति सभापति पनि छन्। जनमत पार्टीको प्रदेश संसदीय दल नेतामा महेशप्रसाद यादव छन्।
संविधानको धारा १६८ (२) मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान रहेकाले सोही व्यवस्थाअनुसार सिंहले नेतृत्व पाउन लागेका हुन्।