लहान । सिरहाको लहान नगरपालिकाबाट प्रहरीले अवैध पेस्तोलसहित तीन जना युवकलाई नियन्त्रणमा लिएको छ।
शनिबार (साउन १९ गते) राति करिब ११:०० बजे लहान नगरपालिका वडा नं. २२ सलोखरीस्थित क्षेत्रमा प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा फेला पारेका उनीहरूलाई चेकजाँच गर्दा हतियारसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा लहान-२२ सलोखरी बस्ने २० वर्षीय सबरजीत दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय सञ्जय दास रहेका छन्।
चेकजाँचका क्रममा सबरजीत दासले लगाएको पाइन्टको दाहिने गोजीबाट ९ एमएम जस्तो देखिने म्यागजिनसहितको पेस्तोल १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। हतियार बरामद भएपछि उनीसँगै रहेका अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
बरामद हतियारसहित नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (DSP) रमेश बहादुर पालले जानकारी दिएका छन्।