धनुषा । ढल्केवरस्थित ट्रमा सेन्टरलाई अन्यत्र सार्ने निर्णयको विरोधमा स्थानीय स्तरमा सङ्घर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ ।
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठित ‘ढल्केवर ट्रमा सेन्टर संरक्षण सङ्घर्ष समिति’ ले उक्त निर्णयविरुद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो ।
सङ्घर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । ढल्केवर ट्रमा सेन्टर स्थानीयवासीको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको आधारभूत सेवा भएको उल्लेख गर्दै नगरप्रमुख एवं समितिका संयोजक महतोले जनभावनाविपरीत गरिएको निर्णय स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
‘ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने निर्णय तत्काल खारेज गरी सो सेवालाई यथास्थानमै सञ्चालन गरिनुपर्छ,’ सङ्घर्ष समितिका संयोजक महतोले भने, ‘जनभावनाको कदर गर्दै त्रुटिपूर्ण निर्णय नसच्याइए हामी कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ।’
समितिले आफ्ना मागहरू सम्बोधन नभए सडक आन्दोलन, धर्ना र रिले अनशन लगायतका थप दबाबमूलक कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ । स्थानीयको स्वास्थ्य अधिकार रक्षाका लागि कुनै पनि हालतमा पछि नहट्ने अडान सङ्घर्ष समितिले दोहोर्याएको छ ।