काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि ‘उम्मेदवार छनोट रुपरेखा–२०८३’ सार्वजनिक गरेको छ।
पार्टी महामन्त्री विपिन कुमार आचार्यले तयार पारेको उक्त रुपरेखालाई साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेसँगै कार्यान्वयनमा ल्याइएको हो।
बैठकले योग्य र सक्षम उम्मेदवार छनोट गर्ने प्रक्रियाको पहिलो खुड्किलोका रूपमा आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको छ। उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र मर्यादित बनाउन रास्वपाले ‘शून्य सहनशीलता’ (जिरो टोलरेन्स) को नीतिसहित पाँच बुँदे विशेष आचारसंहिता लागू गरेको छः
१. आर्थिक लेनदेनमा प्रतिबन्ध : उम्मेदवारीका लागि कुनै पनि प्रकारको आर्थिक लेनदेन वा प्रलोभन पूर्ण रूपमा निषेध गरिएको छ। यस्तो कार्यमा संलग्न लिने र दिने दुवै पक्षलाई पार्टीबाट तत्काल निष्कासन गरिनेछ।
२. धाँधलीविरुद्ध कारबाही : आन्तरिक मतदान, तथ्याङ्क सङ्कलन वा स्कोरकार्ड प्रणालीमा जाली काम गर्ने, नक्कली कागजात प्रयोग गर्ने वा प्रणाली तोडमोड गर्नेलाई पार्टी सदस्यताबाट बर्खास्त गरी कानुनी कारबाहीका लागि सिफारिस गरिनेछ।
३। छनोट समितिको मर्यादा : छनोट समितिमा रहेका पदाधिकारीले पक्षपात गरेमा, सूचना चुहाएमा वा निर्णय प्रक्रिया विकृत बनाएमा उनीहरूलाई तत्काल पदमुक्त र निष्कासन गरिनेछ।
४. गुटबन्दी र चरित्र हत्यामा रोक : गुटगत भेला गर्ने, समानान्तर संरचना बनाउने वा अन्य आकांक्षीविरुद्ध सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने व्यक्तिको उम्मेदवारी खारेज गरी अनुशासनको कारबाही गरिनेछ।
५. प्रमाणमा आधारित कारबाही : कारबाहीका निर्णयहरू केवल आरोपका भरमा नभई केन्द्रीय अनुशासन आयोगको ‘फास्ट ट्रयाक’ छानबिनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा गरिनेछ।
यस व्यवस्थाको मुख्य उद्देश्य उम्मेदवार छनोट प्रक्रियालाई स्वच्छ, विश्वासयोग्य र पार्टीको लोकतान्त्रिक चरित्र अनुरूप सुरक्षित राख्नु रहेको रास्वपाले जनाएको छ।