शव नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि

वीरगन्ज । पर्साको पोखरिया–रानीगञ्ज रहरियाका सोना लाल पण्डितको बाढीमा बेपत्ता भएको केही दिन बितिसक्दा पनि शव फेला पर्न सकेको छैन । शव नभेटिएपछि परिवारजनले कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेका छन् ।

बाढी आएको समयमा पण्डितसँगै रहेका भान्जाका अनुसार पानी बढ्दै गएपछि उनले पण्डितलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेका थिए । तर पण्डितले आफूलाई केही नहुने भन्दै त्यहीँ बसेका थिए। पानी कोठासम्म पुगेपछि भने उनले भान्जासहित अन्यलाई भाग्न आग्रह गर्दै आफू कोठाभित्र जाने बताएका थिए।

त्यसपछि भान्जा घुँडासम्म आएको पानीमा हिँड्दै ज्यान जोगाएर बाहिर निस्किएका थिए। उनी बाहिरिएलगत्तै दुई तले भवनसमेत बाढीमा डुबेको बताइएको छ। त्यसयता सोना लाल पण्डितको अवस्था अज्ञात छ। उनको शवसमेत अहिलेसम्म फेला पर्न सकेको छैन।

पण्डित एक खुट्टाबाट अपांगता भएका व्यक्ति हुन्। उनका पाँच छोरी छन्। छोरीको विवाहका लागि आवश्यक खर्च जुटाउन उनी त्रिशूली क्षेत्रमा सेन्ट्रीको काम गर्दै आएका थिए ।

परिवारले पण्डितको शव खोजी गरी अन्तिम संस्कार गर्न सहयोग गरिदिन प्रहरी प्रशासन, सेना तथा सरकारसँग आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै