ईश्वरपुर : रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले ईश्वरपुर नगरपालिका–६ बयलबास बजारमा राहत सामग्री संकलन अभियान तीव्र पारिएको छ ।
अभियानमा स्थानीय नागरिक, व्यवसायी, युवा तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सक्रिय सहभागिता छ ।
ईश्वरपुर नगरपालिका, लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्स र बजार व्यवस्थापन समिति ईश्वरपुरको संयुक्त आयोजनामा सञ्चालित अभियानमार्फत खाद्यान्न, लत्ताकपडा, कम्बल, सरसफाइ सामग्री, औषधिलगायत अत्यावश्यक वस्तुहरू संकलन भइरहेका छन् ।
संकलित सामग्री बाढीका कारण समस्यामा परेका भोटेकोशी क्षेत्रका प्रभावित परिवारहरूसम्म पुर्याइने जनाइएको छ।
आयोजकहरूले प्राकृतिक विपद्का कारण ठूलो पीडामा रहेका नागरिकहरूको दुःखमा साथ दिन सबै क्षेत्रका व्यक्तिहरूलाई सहयोगका लागि आह्वान गरेका छन् । अभियानले मानवीय एकता, सामाजिक उत्तरदायित्व र परोपकारको भावनालाई थप मजबुत बनाएको आयोजकहरूको भनाइ छ ।
यसै क्रममा बाढीपीडितको सहयोगार्थ बिहीबार बिहान ८ बजेदेखि बयलबास बजारमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। “रक्तदान जीवनदान” भन्ने मूल सन्देशका साथ सञ्चालन हुने उक्त कार्यक्रममा रक्तदानमार्फत मानव जीवन बचाउने पुण्य कार्यमा सहभागी हुन सबै स्वस्थ नागरिकहरूलाई अनुरोध गरिएको छ।
आयोजकका अनुसार विपद्का बेला विभिन्न अस्पताल तथा उपचार केन्द्रहरूमा रगतको आवश्यकता बढ्न सक्ने भएकाले समयमै रगतको उपलब्धता सुनिश्चित गर्न रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो। एक व्यक्तिको रक्तदानले अर्काको जीवन बचाउन सक्ने भएकाले यो अभियानलाई मानवीय सेवाको महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ।
राहत संकलन अभियान र रक्तदान कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण स्थानीयवासी, उद्योगी–व्यवसायी, सामाजिक अभियन्ता, युवा तथा विभिन्न संघसंस्थाहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरिएको छ।