संविधान दिवस २०८३ को अवसरमा लालबन्दी–६ स्थित गुरुकुलमा सामूहिक वृक्षरोपण

विवेक कर्ण, लालबन्दी । “हरियाली प्रवर्द्धन, सुरक्षित जीवन : एनएमबी लघुवित्तको अभियान” भन्ने नारासहित संविधान दिवस २०८३ को अवसरमा सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित श्री राधाकृष्ण रामजानकी संस्कृत गुरुकुलम् परिसरमा सामूहिक वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

एनएमबी लघुवित्त वित्तीय संस्था, मधेश प्रदेशको आयोजनामा भएको कार्यक्रममा गुरुकुल परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र सुरक्षित जीवनका लागि वृक्षरोपणको महत्वबारे कार्यक्रममा चर्चा गरिएको थियो।

सामूहिक रूपमा गरिएको वृक्षरोपण कार्यक्रममा सहभागीहरूले वृक्षरोपणलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र हुर्काउने कार्यलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेली, इलाका प्रहरी कार्यालयका जय राम साह, एनएमबी लघुवित्तका मधेश प्रदेश प्रमुख अविषेक गौतम, अनुगमन अधिकृत सूर्यबहादुर किङरिङ र शिवकुमार साह कानु, ईश्वरपुर शाखाका शाखा प्रबन्धक विवेककुमार कर्ण, भीमान शाखाका शाखा प्रबन्धक धीरेन श्रेष्ठ, ईश्वरपुर फिल्ड कार्यालयकी दिपा श्रेष्ठ, भीमानका फिल्ड अफिसर गोपी शर्मा, गुरुकुलका अध्यक्ष धुकेन्द्रबहादुर खत्री तथा गुरुकुलका प्रधानाध्यापक अच्युत्तमप्रसाद दाहाल गुरुलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अतिथि तथा प्रतिनिधिहरूले गुरुकुल परिसरमा बिरुवा रोप्दै वातावरण संरक्षणमा सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्नेमा जोड दिएका थिए। वृक्षरोपण कार्यक्रममा गुरुकुलका शिक्षक–विद्यार्थी, एनएमबी लघुवित्तका कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले संविधान दिवसलाई सामाजिक उत्तरदायित्व तथा समुदायको हितसँग जोड्दै वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्नु सकारात्मक पहल भएको बताएका थिए। वातावरण संरक्षणसँगै रोपिएका बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारी पनि सबैको साझा दायित्व रहेको उनीहरूको भनाइ थियो।

वक्ताहरूले बढ्दो वातावरणीय चुनौतीका बीच हरियाली प्रवर्द्धन र वृक्षरोपणका अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। एउटा बिरुवा रोप्नु मात्र पर्याप्त नभई त्यसलाई हुर्काउन र संरक्षण गर्न सके मात्रै वृक्षरोपण कार्यक्रमले अपेक्षित उद्देश्य पूरा गर्ने बताइएको थियो।

एनएमबी लघुवित्त वित्तीय संस्था, मधेश प्रदेशले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण, समुदायको हित तथा जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

“हरियाली प्रवर्द्धन, सुरक्षित जीवन” भन्ने मूल सन्देशसहित गरिएको सामूहिक वृक्षरोपण कार्यक्रमले गुरुकुल परिसरलाई हरियाली बनाउनेसँगै वातावरण संरक्षणप्रति समुदायमा सकारात्मक चेतना फैलाउने अपेक्षा गरिएको छ।

संविधान दिवस २०८३ को अवसरमा आयोजित उक्त सामूहिक वृक्षरोपण कार्यक्रमले प्रकृति संरक्षण, सामाजिक जिम्मेवारी र भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्ने सन्देश दिएको छ।

सम्बन्धित समाचार

सबै