बागमती । सर्लाहीको बागमती नगरपालिका–३, धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ। मुटुसम्बन्धी समस्याबाट पीडित ४७ वर्षीय मोक्तानको उपचारका क्रममा काठमाडौँमा निधन भएको हो।
बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाका अनुसार वडाध्यक्ष मोक्तान उपचारका लागि एक महिनाअघि काठमाडौँ गएका थिए। उनको आगामी असोज २२ गते शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको थियो।
शल्यक्रियाको तयारीमा रहनुभएका मोक्तानलाई केही दिनयता ज्वरो आएको थियो। कोठामै आराम गरिरहेको अवस्थामा शुक्रबार बिहान उनको निधन भएको बागमती नगरपालिका–२ का वडाध्यक्ष टेकबहादुर बलले जानकारी दिए।
स्वर्गीय मोक्तान २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँको निधनले बागमती नगरपालिकामा शोक छाएको छ।