बागमती । सर्लाहीको बागमती नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाका अनुसार वडा नम्बर-३ का वडाध्यक्ष तिलक बहादुर मोक्तानको गत असोज १६ गते निधन भएको थियो। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगरपालिकाले असोज १९ गते सोमबार नगरपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक शोक बिदा दिने निर्णय गरेको हो।
कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाद्वारा जारी सूचनामा वडाध्यक्ष मोक्तानले बागमती नगरपालिका तथा वडा नम्बर ३ को विकास र जनसेवाका क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गर्न शोक बिदा दिइएको उल्लेख छ।
नगरपालिकाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ।