लालबन्दी । धनुषा प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज साँझ करिब ४:२० बजे जनकपुर उपमहानगरपालिका-१४ स्थित बाबा पेट्रोल पम्प अगाडि प्रहरीले लागूऔषध बरामद गरेको हो।
वडा प्रहरी कार्यालय मुजेलिया र लागूऔषध नियन्त्रण ब्युरो बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२-०२-००१ प ७८८९ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गरेको थियो।
सो क्रममा मोटरसाइकलको सिटमुनि लुकाइछिपाइ राखेको अवस्थामा १६१.९७ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको हो।
प्रहरीले उक्त कार्यमा संलग्न मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका-५ का २७ वर्षीय अरविन्द कुमार साहलाई पक्राउ गरेको छ।
पक्राउ परेका साहलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।