महेन्द्र राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१, नवलपुर बागवानी केन्द्र नजिक भएको आक्रमणमा परी सिटी स्टोरका कर्मचारी लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सुजित सिंह घाइते भएका छन् । हात र खुट्टामा चोट लागेका सिंहको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गएराति करिब ८ बजेतिर हरिवन बजार क्षेत्रमा पसलको पैसा उठाएर घरतर्फ फर्कने क्रममा सिंहमाथि आक्रमण भएको बुझिएको छ । यद्यपि, उनले उठाएर ल्याउँदै गरेको पैसा लुटिए वा नलुटिएको विषयमा भने अझै स्पष्ट भइसकेको छैन ।
घटनास्थलमा गोली चलेको भनिए पनि त्यसको पुष्टि हुन बाँकी रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । घटनामा धारिलो हतियार प्रहार भएको देखिए पनि गोली चलेको विषय पुष्टि भइनसकेको उनको भनाइ छ ।
गौतमका अनुसार सिंह चढेर आउँदै गरेको मोटरसाइकल भने लुटेराहरूले लुटेर लगेका छन् ।
बिहानसम्म घटनामा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैनन् । घटनाको अनुसन्धान तथा संलग्नहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीबाट इन्स्पेक्टर श्याम थापा मगरको कमान्डमा प्रहरी टोली परिचालन भइरहेको प्रहरीले जनाएको छ ।