घरमा ‘धामी पालेको’ भन्दै मलंगवामा एकल महिलामाथि दुर्व्यवहार

मलंगवा : ‘घरमा धामी पालेको’ आरोप लगाउँदै सर्लाहीमा एक महिलामाथि स्थानीयले दुर्व्यवहार गरेका छन्।

जिल्लाको मलंगवा नगरपालिका- ७ मुसैलीटोलकी ६० वर्षीया इन्द्राशनदेवी महतो (एकल महिला) लाई स्थानीयको समूहले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको हो। यो घटना तीन साताअघिकै भएको प्रहरीले जनाएको छ।

पीडित महिलाका आफन्तले इन्द्राशनलाई बोक्सीको आरोपमा मानव मलमुत्र खुवाएर दुर्व्यवहार गरिएको दाबी गरेका छन्।

तर, प्रहरीले भने बोक्सीको आरोपमा नभएर घरमा धामीझाँक्री (भक्ता) पालेको आरोपमा उनमाथि गाउँलेले दुर्व्यवहार गरेको पाइएको दाबी गरेको छ।

‘सुरुमा यो विषयमा बोक्सीको आरोप जोडिएको थिएन,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्र बहादुर सिंहले भने, ‘पछि पीडित परिवारले विषयलाई ‘डाइभर्ट’ गरेर यसलाई बोक्सीको आरोपमा भएको दुर्व्यवहार भन्न थाल्नु भएको छ। हामीलाई आएको जाहेरीमा पनि अभद्र व्यवहार मात्रै भनिएको छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।’

उनले घटना भएको ११ दिनपछि मात्रै पीडित पक्षले दुर्व्यवहार गर्नेविरुद्ध जाहेरी दिएको बताए। तर, पीडित महिलाका छोरा धिरेन्द्र महतोले भने प्रहरीले विषयलाई सामान्यीकरण गर्न खोजिरहेको गुनासो गरे।

‘हाम्रो आमालाई स्थानीयले बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाए, कुटपिटसहित दुर्व्यवहार गरे। घरमा तोडफोडसमेत भयो। तर, प्रहरीले दोषीलाई कारबाही गर्नेतर्फ चासो देखाएको छैन,’ उनले गुनासो गर्दै भने, ‘हामीले घटना हुनासाथ प्रहरीलाई जानकारी गराएका थियौँ। आमामाथि हुँदै गर्दा पनि प्रहरी हाम्रो घरमा पुगेको थियो। तर, त्यतिबेला कसैलाई पक्राउ नगर्दा उनीहरु फरार भए।’

एसपी सिंहले महिलामाथि दुर्व्यवहार गरेको घटनामा संलग्न भएको आरोपमा स्थानीय सन्तोष महतोलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बताए।

‘पीडित पक्षबाट चार जनाविरुद्ध जाहेरी परेको छ। त्यसमध्ये एकजना पक्राउ परेका छन्। अन्य तीनजना भारततिर भागेको सूचना हामीलाई आएको छ,’ एसपी सिंहले भने, ‘हाम्रो अनुसन्धानले मलमुत्र खुवाएको देखाएको छैन। सामान्य कुटपिटसहितको दुर्व्यवहार भएको मात्रै हो। दुर्व्यवहारमा संलग्नहरुविरुद्ध अमानवीय व्यवहार सम्बन्धि कसुरमा मुद्दा दर्ता गरिएको छ।’

पीडित महिलाका छोरा धिरेन्द्रले आफ्नै काका (पीडित महिलाका देवर) बुद्धीलाल महतो, सन्तोष महतो, स्थानीय राहुल पासवान र शिव दुलारीविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्। त्यसमध्येका सन्तोष पक्राउ परे पनि अन्य फरार छन्।

एसपी सिंहले भने पीडित भनिएकी महिलाले घरमा धामी पाल्ने र गाउँलेलाई ‘इरिटेड’ गर्ने गरेको जानकारी आफूलाई प्राप्त भएको बताएका छन्।

‘ती महिलाले सधैँ घरमा धामीझाँक्री राखेर पूजापाठ गर्ने, घर वरपर धागो र डोरीले घेर्ने, गाउँटाेलमा अविर, चन्दन अक्षता छकिर्ने जस्ता क्रिया गरेकी रहिछन्,’ एसपी सिंहले भने, ‘यो विषयमा स्थानीयले वडा कार्यालयमा जानकारी गराएछन्। वडाध्यक्ष इसा मिकरानीले बोलाउँदा उनीहरु छलफलमा नगएपछि विवाद बढ्दै गएको देखिन्छ।’

घटनापछि रौतहट घर भएका धामी फरार छन्। उनको नाम भने एसपी सिंहले खुलाएनन्।

उनले यो विषयमा घरमा धामीझाँक्री राखेर स्थानीयलाई दुःख दिनेसहित आफन्तबीच जग्गा जमिनको लफडा पनि जोडिएको बताए।

पीडित महिलाका छोरा धिरेन्द्र महतोले भने सबै गाउँलेले आफूहरुमाथि अत्याचार गर्दा पनि प्रहरीले न्याय नदिएको गुनासो गरे।

‘आमालाई यस्तो भएको खबर पुगेपछि भाइ धर्मनाथ पनि कतारबाट आएको छ। हामी न्यायको लागि भौतारिरहेका छौँ, तर प्रहरी प्रशासनले भने दोषीलाई पक्राउ गरेर कारबाही गर्नेतिर ध्यान दिएको छैन,’ उनले भने। नेपालखबरबाट

सम्बन्धित समाचार

सबै