नेपाल-भारत सीमामा तारबार लगाउनुपर्ने अभिव्यक्तिप्रति सांसद चौधरीको आपत्ति

हरिवन : नेपाल-भारत सीमामा तारबार लगाउनुपर्ने एमाले सांसदको अभिव्यक्तिप्रति प्रतिनिधिसभा सांसद चन्दा चौधरीले आपत्ति जनाएकी छन्।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार ४ गते संसदमा नेपाल-भारत सीमाबीच तारबार लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए।

अधिकांश मानिस काठमाडौं मात्र बस्ने र नेपाल-भारतका सीमावर्ती बासिन्दाको सम्बन्ध थाहा नपाएका बर्तौलाले गैरजिम्मेवार अभिव्यक्ति दिएको सांसद चौधरीको भनाइ थियो। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद चौधरीले बर्तौतालको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी हुन्। सीमा क्षेत्रका बासिन्दाको वारिपारि कुनै न कुनै नाता जोडिएको हुने पनि उनले स्मरण गराएकी छिन्।

चौधरीले लेखेकी छन्, ‘दुई देशका जनताबीच परापूर्व कालदेखि रहेको समान सम्बन्ध माथि यसरी गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको म मधेशको नागरिकको हैसियतले घोर भर्त्सना गर्दछु।’

नेपाल भारत सिमाना कुल १८८० किलोमिटर रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सीमासँग जोडिएको नेपालका २७ वटा जिल्ला र भारतका ४ प्रदेशका २० जिल्लाका करोडौं मानिस यी जिल्लाहरूमा बसोबास गरेको उनले स्मरण गराकी छिन्।

‘नेपाल र भारत बीचको भाषिक, पारिवारिक, सामाजिक, जातीय, धार्मिक, सांस्कृतिक र आर्थिक सबै क्षेत्रमा अनोन्याश्रीत सम्बन्ध छ। सीमा क्षेत्रमा रहेका परिवारको सीमा पारीको परिवारसँग कुनै न कुनै नाता जोडिएको हुन्छ,’ उनले लेखेकी छिन् ।

तारबार गर्ने कुराले करोडौं नेपाली तथा भारतीय जनताको मन दुखाएको उल्लेख गर्दै उनले यो कुरा एकल जातीय राज्य स्थापना गर्न १९४० को दशकमा युरोपमा जे भएको थियो त्यस्तै भएको उल्लेख गरेकी छिन् ।

यो अभिव्यक्तिले उनको रंगभेदी मात्र नभई फासीवादी चरित्र देखाएको चौधरीको आरोप छ। विपक्षी दलले संसदमा जायज कुरा बोल्दा पनि रुलिङ गर्ने सभामुखले यस्ता गैरजिम्मेवार अभिव्यक्तिलाई निरुत्साहित गर्नु पर्ने उनले माग गरेकी छिन्।

सांसद चौधरी नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन्। उनी सर्लाहीबाट प्रतिनिधित्व गर्छिन्।

सम्बन्धित समाचार

सबै