बारा : खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
शनिबार बेलुका बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ मा एक १३ वर्षीय बालक निराजन पाख्रिनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ।
रामवन नदीमा विद्युत प्रवाह गरेर माछा मारिरहेका बेला पाख्रिनलाई करेन्ट लागे र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धानसमेत सुरु गरेको जनाएको छ।
बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले खोलामा करेन्ट लगाउने कार्य कोही कसैले गरेको देखेमा तत्काल प्रहरीमा खबर गर्न सबैमा आग्रह गरेका छन्।