बारा । बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार दिउँसो अन्तिम संस्कार गरिएको छ।
सरकारसँग तीन बुँदे सहमति भएसँगै बालिकाको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा अन्तिम संस्कार गरिएको हो ।
गत साउन ३१ गते बिहान साढे ८ बजे जीतपुरसिमरा–१ दसधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरी घरबाटै हराएकी थिइन् । बालिका गरिमाको तेस्रो दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
बालिकाको घरभन्दा २ सय मिटर दूरीको सोही वडाको भक्तिनगर टोलका वीरबहादुर रोकाको सुनसान र जीर्ण घरमा बालिकाको शव हराएको तीन दिनपछि मृत अवस्थामा फेला परेको थियो । बालिकाको शव सात दिनदेखि कलैयाको प्रादेशिक अस्पतालमै थियो ।
न्याय माग्दै ‘स्वतन्त्र आमा नेपाल’ले माइतीघर गरिमाका आमा–बुवासहित आफन्तले न्याय माग्दै बारामा समेत प्रदर्शन गर्दै आएका थिए ।
त्यसपछि गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, सरकारी प्रतिनिधि तथा गरिमा चौधरीका अभिभावकबीच सहमति भएको थियो ।
सहमति कलैया अस्पतालमा राखिएको बालिकाको शव अन्तिम संस्कारका लागि पसाहा खोला लगिएको थियो । उनलाई बुवा मनोजले धार्मिक परम्पराअनुसार दागबत्ती दिएका थिए।
कडा सुरक्षाबीच गरिएको दाहसंस्कारका क्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसमेत उपस्थित थिए ।