
रौतहट : रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
गौर-चन्दरनिगाहपुर सडक खण्डअन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै बस दुर्घटना भएको हो।
गौरबाट भैरहवातर्फ गइरहेको ना ७ ख ८४१४ नम्बरको बस जयनगर चोकमा शनिबार बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ वर्षीया छोरी नेहाकुमारीको मृत्यु भएको हो।
दुर्घटनामा गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताए । दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ।
दुर्घटनामा २६ वर्षीया रन्जुदेवी दासको दाहिने हात भाँचिएको र उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन्।
अन्य सात घाइतेहरूको शिवनगर र गरुडामा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेका प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।