सर्लाहीबाट जन्ती लिएर हिँडेको बस धनुषामा दुर्घटना, १३ जना घाइते

पैदलयात्री जोगाउन खोज्दा पल्टियो बस, चालक सम्पर्कविहीन

लालबन्दी : धनुषामा जन्तीको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

गएराति सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना.५ ख. ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

राति ९ बजेतिर सडकमा हिँडिरहेका व्यक्तिलाई जोगाउन खोज्दा बस पल्टिएको धनुषा प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी एवं प्रवक्ता रन्जन अवाका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन्।

सर्लाहीको कुन ठाउँबाट जन्तीका लागि बस हिँडेको भन्ने अझै पत्ता नलागेको अवाले सर्लाही न्युजसँग बताए।

बसमा बेहुला सवार थिए थिएनन्, त्यो पनि नखुलेको उनले जानकारी दिए। डीएसपी अवाले भने, ‘घाइते सबैको धनुषाकै गोदारमा रहेको रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ। हामी थप अनुसन्धानको क्रममा छौँ।’

दुर्घटनापश्चात् बसका चालक फरार भएका र अहिलेसम्म सम्पर्कमा नआएका धनुषा प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै