
हरिवनः दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु गराएर फरार भएका एक ट्रक चालक जेल चलान भएका छन्।
गएको जेठ २२ गते मंगलबार हरिवन नगरपालिका वडा नम्बर १० सुखेपोखरीमा ट्रकको ठक्करबाट बागमती नगरपालिका-२ बस्ने २० वर्षीय युवकको मृत्यु भएको थियो। दुर्घटना गराउने उक्त ट्रकका चालक २६ वर्षीय सोलिन्द्र कुमार कुशवाहलाई जेठ २३ गते प्रहरीले पक्राउ गरेको थियो।
कुशवाहलाई हिजो १७ गते जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि चेल चलान गरेको हो।
उनलाई प्रहरीले सवारी ज्यान मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरेको थियो।
२६ वर्षीय कुशवाहलाई इलाका प्रहरी कार्यालय केशरगञ्जको समन्वयमा बयलबासबाट प्रहरीले पक्राउ गरेको थियो।
ईश्वरपुर नगरपालिका वडा नम्बर १३ घर भएका कुशवाहलाई बयलबास बजारमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो।
सुखेपोखरीमा पश्चिमबाट पूर्व गइरहेको ना६ख ४९८९ नम्बरको ट्रकले बागमतीका २० वर्षीय मोटरसाइकल चालक दीपशरण चालिसेलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएपछि कुशवाह फरार भएका थिए।