राजविराज : सप्तरीको तिरुहुत गाउँपालिका–२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ।
तिरहुत–२ का वडाध्यक्ष सञ्जिवकुमार यादवले राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको जानकारी दिए। बाढीले कोशी पम्प चन्द्रनहर सिँचाइ योजनाको निर्माणाधीन विभिन्न संरचना तथा उपकरणमा क्षति पुर्याएको उनले जानकारी दिए।
यसैगरी मोहुली खोलामा आएको बाढीले कञ्चनरुप नगरपालिका–११ स्थित ठेलिया नजिक पूर्वतर्फ बाँध भत्काउँदा खेतीबालीलाई क्षति पुर्याएको छ।
तिरहुत–२ का बलराम साहका अनुसार मोहुलीको बाढीले तीन सय बिघा जमिन क्षति भएको जानकारी दिए।
बाढीले जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडा डुबानमा परेका छन्।
खाँडो खोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका लौनिया, तिलाठी, सकरपुरा, कोइलाडीलगायत गाउँ डुबानमा परेका छन्।