सांसद उर्मिलादेवी सिंहले भनिन्, ‘२०८४ को चुनावमा जनताले जुत्ता हान्छन्’

जनकपुरधाम : मधेश प्रदेश सांसद उर्मिलादेवी सिंहले यस्तै अवस्था रहे २०८४ सालको निर्वाचनमा जनताले जुत्ता हान्ने अवस्था आउने बताएकी छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत दिने विषयमा बसेको प्रदेशसभा बैठकमा उनले बोलेको उक्त शब्दहरू पनि रेकर्डबाट हटाइएको छ।

मुख्यमन्त्री सतीशकुमार सिंहलाई विश्वासको मत दिने बैठकमा पुगेकी नागरिक उन्मुक्ति पार्टीकी सांसद सिंहले मैथिली भाषामा यस्तो बताएकी थिइन्। तर सभामुख रामचन्द्र मण्डलले उक्त शब्द रेकर्डबाट हटाइएको जानकारी गराए।

‘माननीय सदस्य ज्यू, माननीय उर्मिलादेवी सिंहले शब्दको जुन चयन गर्नुभयो त्यो रेकर्डबाट हटाउन आग्रह गर्दछु’ मण्डलले भने।

सम्बोधनको क्रममा उनले सुरुमा नेपाली भाषामा सम्बोधन गरेकी थिइन्। मुख्यमन्त्रीलाई पार्टीको तर्फबाट समर्थन रहेको जानकारी गराउँदै सफल कार्यकालको शुभकामना पनि दिइन्।

‘पूर्व मुख्यमन्त्रीलाई चार पटक विश्वासको मत दिर्यौँ। सतीशकुमार मुख्यमन्त्री बनेको हुनुहुन्छ, उहाँलाई पनि हामी विश्वासको मत दिन्छौँ,’ उनले भनिन्, ‘मधेश प्रदेशमा विकास कम राजनीति ज्यादा भयो। हरदम पद र कुर्सीमात्रै चाहिएको छ। टाङखिचाइ बढेको छ।’·

उनले समानुपातिक सांसदका लागि बजेटमै विभेद भएकोसम्म सुनाइन्।

‘समानुपातिक सांसदका लागि त बजेटमा पनि विभेद छ। म यो आग्रह गर्छु, कि आफू अभिभावक हो, १०७ सांसदलाई बराबर लिएर जानुहोला,’ उनले भनिन्।

मुख्यमन्त्री सिंहले विश्वासको मत पाएका छन्। गत जेठ २५ गते मात्रै नेकपा एमाले र माओवादी केन्द्रसहितका दलको सहयोगमा मुख्यमन्त्री बनेका सिंहले गठबन्धन फेरेर विश्वासको मत लिएका हुन्। सिंहको पक्षमा ६७ र विपक्षमा ३४ मत प्राप्त भएको छ।

सांसद उर्मिलादेवी सिंह सर्लाही रामनगरकी हुन्।

सम्बन्धित समाचार

सबै