काठमाडौँ : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको बस पहिरोले बगाउँदा त्यसमा सवार २९ जना यात्रु बेपत्ता भएका छन्।
उक्त बस गणपति डिलक्सको भएको र चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ।
काठमाडौंको नयाँबसपार्कबाट गौरका लागि छुटेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु र दुई जना बीच बाटोबाट चढेका जनाइएको छ। बसका चालक किशोर कुमार चौधरी रहेका खुलेको छ।
बसमा सवार सबै यात्रुको नामावली उल्लेख नभए पनि बसको सिट रिजर्भ गरिएको र कसबाट टिकट बुक भएको हो उनीहरूको नाम यहाँ उल्लेख गरिएको छ।
काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो।
काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन्। अन्य यात्रुहरुको अवस्था अज्ञात छ। घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।